काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यही प्रणालीका कारण देशका विभिन्न भागमा बदली, वर्षा र केही क्षेत्रमा तातो लहरको अवस्था बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भूभागमा आंशिक बादल लागेको अवस्था छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ।
तराई क्षेत्रमा भने मौसम तुलनात्मक रूपमा खुला रहने देखिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई भूभागमा मुख्यतया सफा मौसम रहने महाशाखाले जनाएको छ।
यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि केही स्थानमा पानी पर्ने अनुमान गरिएको छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसम विभागले सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा तातो लहर (हीट वेभ) चल्ने सम्भावना औँल्याएको छ। यस्तै लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा ‘तातो दिन’को अवस्था कायम रहने अनुमान गरिएको छ।
अत्यधिक गर्मीका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र बाहिरी काममा खटिने व्यक्तिहरूलाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराईका धेरैजसो भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान ५ बजेदेखि उपत्यकाका विभिन्न क्षेत्रमा पानी परेको हो। उनका अनुसार अहिलेको प्रणाली लामो समय टिक्ने खालको नभई क्षणिक वर्षा गराउने प्रकृतिको हो।
“काठमाडौंका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ, तर यो छोटो समय सक्रिय हुने प्रणाली हो,” मौसमविद् अधिकारीले भने, “केही समयपछि क्रमिक रूपमा मौसम खुल्दै जाने सम्भावना छ।”