अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुने यो खेल नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल पनि हो।
नेपाल आजको खेल जित्दै शृंखला सुखद अन्त्य गर्ने लक्ष्यमा छ। घरेलु टोलीले यसअघि अमेरिकालाई नौ विकेटले हराइसकेको छ र दोस्रो पटक पनि पराजित गर्दै आफ्नो लय कायम राख्न चाहन्छ।
हाल नेपाल लिग–२ को अंकतालिकामा पाँचौँ स्थानमा रहेको छ। नेपालले २७ खेलमा १० जितसहित २२ अंक जोडेको छ। नेपालका दुई खेल वर्षाका कारण रद्द भएका थिए।
यता अमेरिका भने पहिलो हारको बदला लिँदै अंकतालिकामा शीर्ष स्थान मजबुत बनाउन चाहन्छ। अमेरिकाले २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंक बनाएको छ। समान अंक भएको स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो।
नेपाल पछिल्ला दुई खेलको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। विशेषगरी ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन नेपालका लागि महत्त्वपूर्ण हुनेछ।
नेपालका लागि खुसीको खबर ओपनर कुशल भुर्तेलको फर्ममा फर्किनु हो। अमेरिकाविरुद्धकै अघिल्लो खेलमा उनले अविजित १२० रनको शानदार शतकीय इनिङ खेल्दै टोलीलाई सहज जित दिलाएका थिए।
आशिफ शेखले पनि स्थिर सुरुवात दिइरहेका छन्। उनले अघिल्लो खेलमा ठूलो स्कोर नगरे पनि कुशलसँग महत्वपूर्ण अर्धशतकीय साझेदारी गरेका थिए।
युवा ब्याटर ईशान पाण्डेले पछिल्ला दुई खेलमा प्रभावशाली प्रदर्शन गर्दै टोलीमा आफ्नो स्थान बलियो बनाएका छन्। कप्तान रोहित पौडेलले पनि स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गर्दै लयमा फर्किएको संकेत दिएका छन्।
मध्यक्रममा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्सन झामाथि पनि टोलीले ठूलो अपेक्षा राखेको छ। आरिफले ‘फिनिसर’ को भूमिका निभाउन सक्छन् भने गुल्सनले तीव्र गतिमा रन जोड्न सक्ने क्षमता राख्छन्।
नेपालको जितमा बलिङ विभाग निर्णायक बन्ने अपेक्षा गरिएको छ। पछिल्ला खेलहरूमा नेपालका स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
सन्दीप लामिछाने र ललित राजवंशीले स्कटल्यान्डविरुद्ध क्रमशः ३ र ४ विकेट लिँदै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए। विशेषगरी सन्दीपले हालै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमानसमेत बनाएका छन्।
अनुभवी बलर सोमपाल कामीले नयाँ बलमा निरन्तर प्रभाव छाडिरहेका छन्। नन्दन यादवले पनि आफ्नो ‘भेरियसन’ र किफायती बलिङमार्फत टोलीलाई बलियो समर्थन दिइरहेका छन्।
अमेरिका आज नेपालविरुद्ध फरक योजनासहित मैदानमा उत्रिने तयारीमा छ। शीर्ष स्थानमा रहेको टोली नेपालसँगको अघिल्लो हारको बदला लिन चाहन्छ।
अमेरिकाका ओपनर स्मित पटेल र शयन जाहंगिर खतरनाक ब्याटर मानिन्छन्। यी दुईले स्कटल्यान्डविरुद्ध ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए।
मध्यक्रममा कप्तान साई तेजा मुकामाला, शयन जयसूर्या र मिलिन्द कुमार टोलीका प्रमुख खेलाडी हुन्। मिलिन्द आक्रामक ब्याटिङका लागि परिचित छन्।
बलिङतर्फ सौरभ नेत्रावल्कर नेपालको लागि मुख्य चुनौती बन्न सक्छन्। रुशिल उग्राकारले डेथ ओभरमा प्रभावशाली बलिङ गर्दै आएका छन्। स्पिनर हर्मित सिंह नेपाली पिचसँग परिचित भएकाले उनको भूमिका पनि महत्वपूर्ण रहने देखिन्छ।
नेपालका लागि आजको खेल केवल शृंखलाको अन्तिम खेल मात्र होइन, आगामी लिग–२ यात्राको आत्मविश्वाससँग पनि जोडिएको छ।
यदि नेपालले अमेरिका विरुद्ध जित निकाल्न सफल भयो भने टोलीको मनोबल थप उकासिनेछ र अंकतालिकामा थप मजबुत स्थिति बनाउन सहयोग पुग्नेछ। घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गरिरहेको नेपाल आज पनि समर्थकलाई खुशी पार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।