कैलाली । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा बेहोस भएका सुरक्षाकर्मीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नेपाली सेनाको स्काई ट्रकमार्फत उनीहरूलाई शुक्रबार दिउँसो करिब पौने २ बजे काठमाडौं ल्याउन थालिएको हो।
तालिमका क्रममा कुल ८ जना जवान बेहोस भएका थिए। उनीहरूलाई सुरुमा कैलालीबाट सुर्खेत लगेर उपचार गरिएको थियो। अवस्था जटिल देखिएपछि ६ जनालाई काठमाडौं रिफर गरिएको हो। बेहोस हुनेमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
घटनाको कारणबारे औपचारिक विवरण सार्वजनिक नभए पनि अत्यधिक गर्मी, शारीरिक थकान वा तालिमको दबाबका कारण यस्तो अवस्था आएको हुन सक्ने अनुमान गरिएको छ। सशस्त्र प्रहरीले घटनाबारे आन्तरिक रूपमा थप अनुसन्धान भइरहेको जनाएको छ।