विश्वकप लिग–२

अमेरिकासामु नेपालको विशाल लक्ष्य, टीयू मैदानमा नयाँ कीर्तिमान

२ हप्ता अगाडि
अमेरिकासामु नेपालको विशाल लक्ष्य, टीयू मैदानमा नयाँ कीर्तिमान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामु ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनायो।

यो टीयू मैदानमा नेपालले बनाएको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले २०२३ मा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। ओडीआई इतिहासमा भने स्कटल्यान्डविरुद्ध बनाएको ३ सय २१ रन नेपालको सर्वाधिक स्कोर हो।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रन बनाए। कप्तान रोहित पौडेलले ४६ रन जोड्दा दुवैले तेस्रो विकेटका लागि १ सय १० रनको महत्त्वपूर्ण साझेदारी गरे। ओपनर कुशल भुर्तेलले २९ र आशिफ शेखले ४३ रन बनाए।

अन्तिम ओभरहरूमा दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन प्रहार गरे। उनले ४ चौका र ४ छक्का प्रहार गर्दै नेपालको स्कोरलाई विशाल बनाएका थिए। अमेरिकाका लागि शुभम रञ्जानेले ३ विकेट लिए भने रुसिल उग्राकार र मिलिन्द कुमारले समान एक विकेट लिए।

नेपालले पछिल्ला खेलमा लगातार राम्रो प्रदर्शन गरिरहेको अवस्थामा यो विशाल स्कोरले टोलीको आत्मविश्वास थप बढाएको छ।