१० महिनामा १९ खर्बभन्दा बढीको वैदेशिक व्यापार, व्यापार घाटा पनि बढ्यो

२ हप्ता अगाडि
१० महिनामा १९ खर्बभन्दा बढीको वैदेशिक व्यापार, व्यापार घाटा पनि बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४.९२ प्रतिशतले बढी हो।

यस अवधिमा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ। निर्यातमा वृद्धि भए पनि आयात अत्यधिक बढेकाले व्यापार घाटा पनि चुलिएको छ। १० महिनामा नेपालले १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

गत वर्ष यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ हाराहारीमा थियो। यसले नेपाल अझै आयातमुखी अर्थतन्त्रमा निर्भर रहेको देखाउँछ। पेट्रोलियम पदार्थ, सवारी साधन, निर्माण सामग्री र औद्योगिक कच्चा पदार्थको आयात बढेका कारण व्यापार घाटा विस्तार भएको अर्थविद्हरू बताउँछन्।