माैसम पूर्वानुमान

आजकाे माैसम कस्ताे ? पहाडी भूभागमा भारी वर्षाको सम्भावना

२ हप्ता अगाडि
आजकाे माैसम कस्ताे ? पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भूभागमा मौसमको प्रभाव फरक-फरक देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागले आज दिउँसो कोसी, वागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोसी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । मधेस प्रदेशका केही भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । विभागले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

रातिको समयमा पनि कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा बदली रहने विभागले जनाएको छ । ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव सक्रिय रहेको मौसमविद्ले बताएका छन् ।