माैसम पूर्वानुमान

तीन दिन तातो हावा, कहाँ-कहाँ ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ला (जिल्लासहित)

२ हप्ता अगाडि
तीन दिन तातो हावा, कहाँ-कहाँ ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ला (जिल्लासहित)

काठमाडौं । देशका पश्चिमी भूभागमा अत्यधिक गर्मी बढ्ने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि लगातार तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा पछिल्ला दिनहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जेठ ६ गतेदेखि ती क्षेत्रमा अत्यधिक गर्मी महसुस भइरहेको विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका धेरै स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन भइरहेको छ । आगामी तीन दिनसम्म पनि यी प्रदेशका केही स्थानमा तापक्रम ३८ देखि ४० डिग्री वा त्योभन्दा बढी पुग्ने सम्भावना रहेको विभागको चेतावनी छ ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो हावाको लहर चल्ने तथा पहाडी भूभागमा ‘तातो दिन’ रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङलाई अत्यधिक गर्मी प्रभावित जिल्ला भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा पनि उच्च गर्मीको प्रभाव देखिन सक्ने बताइएको छ ।

अत्यधिक गर्मीका कारण थकान, शरीर कमजोर हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ ।

विभागले दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्किन, सकेसम्म चिसो स्थानमा बस्न, हल्का तथा सुतीका कपडा लगाउन र बाहिर जाँदा टाउको छोप्न सुझाव दिएको छ । साथै प्रशस्त पानी, जुस, सर्वतलगायत झोल पदार्थ सेवन गर्न र स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरिएको छ ।