काठमाडौंमा गरियाे ‘ग्लोबल साउथ’ अवधारणामाथि अन्तर्राष्ट्रिय बहस

२ हप्ता अगाडि
काठमाडौंमा गरियाे ‘ग्लोबल साउथ’ अवधारणामाथि अन्तर्राष्ट्रिय बहस

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको 'ग्लोबल साउथ' अवधारणा, चीनको शासन पद्धति र बदलिँदो विश्व शक्ति सन्तुलनबारे काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको विचारविमर्श गरिएको छ ।

फ्रेन्ड्स अन क्लाउडद्वारा आयोजित गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरूले सहभागी हुँदै विश्व राजनीति, अन्तर्राष्ट्रिय शासन प्रणाली र विकासशील राष्ट्रहरूको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रपति सीको विश्वव्यापी शासन अवधारणा, त्यसको प्रभाव, बहुध्रुवीय विश्व व्यवस्थाको उदय तथा विकासशील मुलुकहरूको साझा आवाजका विषयमा छलफल केन्द्रित भएको थियो ।

गोष्ठीमा फ्रेन्ड्स अन क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, भुटानका पूर्वमन्त्री कर्मा दोर्जी, बंगलादेशका राजनीतिक विश्लेषक डा. बेलाल होसिन तथा भारतकी विदेश मामिला विज्ञ एवं प्राध्यापक डा. रेणु रानाले आ–आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले ‘ग्लोबल साउथ’लाई विकासशील तथा उदाउँदा राष्ट्रहरूको साझा मञ्चका रूपमा व्याख्या गर्दै विश्व राजनीति र अर्थतन्त्रमा यसको प्रभाव बढ्दै गएको बताए । उनीहरूका अनुसार विश्व शासन प्रणालीमा विकसित राष्ट्रहरूको मात्र प्रभुत्व रहने पुरानो ढाँचा परिवर्तन हुँदै गएको छ ।

छलफलका क्रममा विकासशील राष्ट्रहरूले आफ्नो आवाज थप सशक्त बनाउनुपर्ने, अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित हुनुपर्ने तथा कुनै पनि राष्ट्रलाई विकासको अधिकारबाट वञ्चित गर्न नहुने विषयमा जोड दिइएको थियो ।
सहभागीहरूले चीनले पूर्वाधार विकास, प्रविधि हस्तान्तरण, गरिबी न्यूनीकरण तथा आर्थिक सहकार्यका माध्यमबाट ग्लोबल साउथका राष्ट्रहरूसँग सहकार्य विस्तार गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा बहुध्रुवीय विश्व व्यवस्था निर्माण, शक्ति सन्तुलनमा भइरहेको परिवर्तन र न्यायपूर्ण अन्तर्राष्ट्रिय प्रणाली स्थापनामा ग्लोबल साउथको भूमिका आगामी दिनमा अझ महत्वपूर्ण बन्ने निष्कर्ष निकालिएको थियो ।