माैसम पूर्वानुमान

आजको मौसम, कतै वर्षा त कतै तातो हावा

२ हप्ता अगाडि
आजको मौसम, कतै वर्षा त कतै तातो हावा

काठमाडौं । देशभर मौसमको मिश्रित प्रभाव देखिएको छ । पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक सक्रिय न्यूनचापीय प्रणालीका कारण शनिबार विभिन्न प्रदेशमा वर्षा भएको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी कायम रहने संकेत देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ ।

विभागले विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । मधेस प्रदेशका केही भू–भाग, गण्डकी र वाग्मतीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औँल्याइएको छ ।

मौसमविद्हरूका अनुसार अहिलेको प्रणाली मनसुनपूर्व सक्रिय हुने मौसमी अवस्थासँग सम्बन्धित हो । यसले देशका केही क्षेत्रमा क्षणिक वर्षा गराए पनि तापक्रम भने उल्लेख्य रूपमा घट्ने सम्भावना कम रहेको बताइएको छ ।

विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ । विभागले ती प्रदेशका पहाडी क्षेत्रमा ‘तातो दिन’ र तराई भू–भागमा ‘तातो लहर’ अर्थात् हिटवेभको अवस्था बन्न सक्ने चेतावनी दिएको छ ।

केही दिनयता बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेको छ भने स्वास्थ्य जोखिमसमेत बढेको चिकित्सकहरूले बताएका छन् ।

यस्तै, मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको विभागले जनाएको छ । अचानक चल्ने हावाहुरीले दैनिक जनजीवन, सवारी आवागमन तथा कृषिबालीमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विज्ञहरूले मौसमको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् । विशेषगरी चट्याङ पर्ने समयमा खुला स्थानमा नबस्न, अत्यधिक गर्मीमा बाहिरी गतिविधि कम गर्न र पर्याप्त पानी पिउन आग्रह गरिएको छ ।