पाँचथर । लगातारको वर्षापछि आएको बाढी र पहिरोले पाँचथरका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । विशेषगरी याङवरक गाउँपालिकामा पहिरोले घर बगाउनुका साथै सडक, पुल, खानेपानी, सिँचाइ र जलविद्युत् आयोजनामा व्यापक असर परेको छ ।
याङवरक गाउँपालिका–१ लम्बाखोलामा खसेको पहिरोले दुई घर बगाउँदा स्थानीय मोहनलाल खवास र कबिर खवासको परिवार विस्थापित भएको छ । यस्तै कोप्चे क्षेत्रमा गंगाप्रसाद बेघाको घर पनि पहिरोले बगाएको छ । विस्थापित परिवारहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।
प्रहरीका अनुसार मोहनलाल र कबिर खवासका परिवारका सात जना शान्ता खवासको घरमा बसिरहेका छन् भने गंगाप्रसाद बेघाको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा सारिएको छ ।
त्यसैगरी, भगीमान बेघाको घर पनि पहिरोको उच्च जोखिममा परेपछि उनका परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
लगातारको वर्षासँगै विभिन्न बस्तीमा जमिन चिरिने र पहिरो खस्ने क्रम बढेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र खोलाघारी मगरडाँडाका दर्जनभन्दा बढी घर पहिरो र बाढीको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिममा परेका परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ ।
स्थानीयवासीका अनुसार वर्षासँगै खोला उर्लिँदा बस्ती नजिकै कटान बढेको छ । कतिपय स्थानमा रातभर पहिरो खस्ने आवाज सुनिन थालेपछि मानिसहरू घर छाडेर सुरक्षित ठाउँतर्फ जान थालेका छन् ।
बाढीले याङवरक र आसपासका क्षेत्रमा यातायात पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ । लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुंगे पुलमा क्षति पुगेको छ भने याङवरक–२ दोभानेस्थित अर्को झोलुंगे पुल पनि बाढीको चपेटामा परेको छ । सबैभन्दा ठूलो क्षति पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत मेवा खोलामा निर्माणाधीन सडक पुलमा पुगेको छ । बाढीले ४१ फिट लामो निर्माणाधीन पुल बगाउनुका साथै डाइभर्सन र सडकसमेत क्षतिग्रस्त बनाएको छ ।
यसका कारण दोभाने क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत निर्माण भइरहेको लिम्बूनी पुलको संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका स्टिल ट्रस्ट, पाइप, उपकरण र अन्य सामग्री बगाएको बताइएको छ । ओयाम बजार र रिजाल भिर खण्डमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढी र पहिरोको असर ऊर्जा क्षेत्रमा पनि देखिएको छ । याङवरक–२ मा रहेको हरिहृदय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खाल भत्किएका छन् । काबेली खोलामा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ ।
सिगेवा क्षेत्रमा बाढी पसेपछि अलैँची खेती र कृषि जमिनमा ठूलो क्षति पुगेको छ । स्थानीय किसानहरूले रोपाइँको तयारी गरिरहेका बेला खेतमा बाढी पसेपछि उत्पादनमा असर पर्ने चिन्ता बढेको छ ।
यसैबीच विभिन्न खानेपानी र सिँचाइ आयोजनासमेत प्रभावित भएका छन् । टीकारामे, डल्लेढुंगा, सिगेवा खानेपानी योजना तथा वाराङ सिँचाइ योजनामा क्षति पुगेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले थप जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।