कांग्रेस विभाजन

अन्तत: कांग्रेस फुट्यो

३ महिना अगाडि
अन्तत: कांग्रेस फुट्यो

काठमाडौं । काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेस अन्ततस् फुटेको छ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेस अन्ततः फुटेको छ । सोमबार-मंगलबार हुँदै बुधबारसम्म आइपुग्दा भएका चरणवद्ध वार्ताहरु असफल भए । विशेष महाधिवेशन पक्षधरले राखेका ८ बुँदामा सहमति नजुटेपछि संस्थापन पक्षको बहुमत केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निश्कासन गर्यो । योसँगै कांग्रेस औपचारिकरुपमा विभाजन भएको हो । 

पटक–पटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो । कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा खड्का भावविह्वल बनेका थिए । 

कांग्रेस संस्थापन पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई पार्टीबाट निश्कासन गर्नेदेखि विशेष महाधिवेशनको पक्षमा खुलेका अन्य नेतालाई फर्किन आग्रह गरेको छ । तर, विशेष महाधिवेशन पक्षधरले कारवाही खारेज गर्दिनुका साथै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेको छ । विशेष पक्षले सहमतिका लाग ८ बुँदे प्रस्ताव राखेको थियो । 

के थियो ८ बुँदे प्रस्ताव ?

१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने

२) परिमार्जनसहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने

३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने

४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने

५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने

६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने

७) नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने

८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने ।

यी बुँदामध्ये सभापति देउवाले आफू निष्क्रिय हुनुपर्ने बुँदा नमानेपछि वार्ता भंग भएको थियो । संस्थापन पक्षले कारवाहीका केही आधार सार्वजनिक गरेको छ । 

संस्थापन पक्षले कारवाहीका लागि देखाएका आधारहरु : 

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) आकर्षित हुने गरी उनीहरूमाथि कारबाही गरिएको भनिएको छ। 

१. समानान्तर अभ्यास : केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष र कार्यालयसँग सहमति नभई विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम र भेला आयोजना गरेको।

२. अनाधिकृत महाधिवेशन घोषणा : मिति २०८२/०९/२९ गते ’विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनाधिकृत रूपमा पारित गरेको र महामन्त्रीद्वयले संयुक्त प्रतिवेदन पेश गरी छलफल गराएको।

३. समानान्तर निर्वाचन तालिका : निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको र आज (मिति २०८२/०९/३०) गते महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति र अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्त समेत दिएको।

४. पार्टीलाई हानि नोक्सानी : पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको तथा पार्टीलाई प्रत्यक्ष/अप्रत्यक्ष हानि नोक्सानी पुर्‍याएको।

यी गतिविधिहरू पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरित रहेको ठहर गर्दै उनीहरूलाई विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।

उता, भृकुटीमण्डपमा २६ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी विशेष महाधिवेशनले यो कारवाहीलाई खारेज गरिदिएको छ । विशेष महाधिवेशनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइसकेको छ । यसबारे निर्वाचन आयोगमा औपचारिक जानकारीको पत्र पनि पठाइएको जानकारी दिइएको छ । 

अर्कोतिर संस्थापन पक्षले कांग्रेसको कुनै किसिमको महाधिवेशन वा विशेष महाधिवेशन नभएको पत्र निर्वाचन आयोगलाई पठाएकोछ । अब आधिकारिकताको विवाद निर्वाचन आयोगदेखि अदालतसम्म पुग्नसक्छ । यसले फागुन २१ गते तोकिएको निर्वाचनसम्म प्रभावित हुनसक्ने विश्लेषण गर्न थालिएको छ ।