बागमतीमा डुबेका पाँच युवामध्ये दुईको मृत्यु, तीन जना सकुशल फेला

२ हप्ता अगाडि
बागमतीमा डुबेका पाँच युवामध्ये दुईको मृत्यु, तीन जना सकुशल फेला

सर्लाही । सर्लाहीको बागमती नदीमा डुबेर बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्।

शनिबार दिउँसो रौतहट र सिन्धुलीको सीमामा पर्ने झपडी झोलुङ्गे पुलमुनि नदी तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी र प्रहरीले खोजी अभियान सञ्चालन गरेका थिए।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका छन्। रोहितको शव आइतबार बिहान बागमती नगरपालिका–११ स्थित पुलनजिक फेला परेको थियो भने गणेशको शव दिउँसो ड्याम साइड क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्द अख्तर र ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल फेला परेका छन्।

प्रहरीका अनुसार उनीहरू परिवारलाई जानकारी नदिई बागमती नदी क्षेत्रमा पुगेका थिए। नदीको बहाव र गहिराइको अनुमान गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।