बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन

२ हप्ता अगाडि
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सहभागी रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

सरकारले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा क्षेत्र र हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। केही दिनअघि सोही विषयलाई लिएर स्थानीयबीच झडप र कुटपिटसमेत भएको थियो।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनमार्फत भिडियो खिच्न पुगेपछि विवाद थप चर्किएको बताइएको छ।