काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा देशको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
हाल कोसी प्रदेशसहित विभिन्न पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ। गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
महाशाखाका अनुसार दिउँसोपछि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा गर्मी बढ्ने तथा तराई भूभागमा तातो लहरको अवस्था कायम रहने चेतावनी दिइएको छ।
रातिको समयमा पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान छ। ती प्रदेशका केही स्थान तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।