सुकुम्बासीको आन्दोलन देशव्यापी बनाउने घोषणा

२ हप्ता अगाडि
सुकुम्बासीको आन्दोलन देशव्यापी बनाउने घोषणा

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा आवाज उठाउँदै "नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति"ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले १५ बुँदे माग अघि सार्दै सरकारबाट सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको हो। आन्दोलनका कार्यक्रमअन्तर्गत काठमाडौं केन्द्रित प्रदर्शन, सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका योजना समावेश गरिएको जनाइएको छ।

समितिका संयोजक खगेन्द्र पौडेलले वैकल्पिक पुनर्स्थापना र उचित व्यवस्थापन नगरी विभिन्न स्थानमा डोजर प्रयोग गरिएको आरोप लगाए। उनले यसबाट लाखौं भूमिहीन तथा सुकुम्बासी परिवार प्रत्यक्ष प्रभावित भएको दाबी गर्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए।

उनका अनुसार बुटवलमा जेठ ३ र ४ गते सम्पन्न राष्ट्रिय भेलाले संघर्षका कार्यक्रम तय गरेको हो। समितिले सर्वोच्च अदालतको अल्पकालीन आदेशको समेत बेवास्ता गर्दै डोजर अभियान चलाइएको आरोप लगाएको छ।

समितिका सल्लाहकार संयोजक वीरेन्द्र विकले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्पबिनै विस्थापित गर्नु अन्यायपूर्ण भएको बताए। उनले सरकारलाई सुरुवाती चरणमा ध्यानाकर्षण गराइने र माग बेवास्ता भए आन्दोलन थप कडा बनाइने जानकारी दिए।

समितिका सदस्यहरूले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन, उचित क्षतिपूर्ति र व्यवस्थापन सुनिश्चित गर्न तथा डोजर अभियान तत्काल रोक्न माग गरेका छन्।

त्यस्तै, सरकारको डोजर अभियानका कारण ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गर्न तथा पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।