काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यसको प्रभावले काठमाडौं उपत्यकासहित केही क्षेत्रमा मौसम बदली भई पानी परेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। तराईका अधिकांश भू–भागमा भने आंशिक बदली रहने जनाइएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश प्रदेशसहित केही तराई क्षेत्रमा पनि वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अनुभव हुने मौसमविद्को अनुमान छ। त्यस्तै केही स्थानमा तीव्र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।