काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज नेपालस्थित युरोपेली सङ्घ (इयू) आवद्ध देशका गैरआवासीय राजदूत तथा विभिन्न कूटनीतिक मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे हुने कार्यक्रममा इयू अन्तर्गतका २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञ सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुनेछ। साथै आर्थिक, विकास र अन्तर्राष्ट्रिय साझेदारीका विषय पनि उठाइने बताइएको छ।
बैठकमा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीमा यथावत राख्दै अन्तर्राष्ट्रिय सहयोग जुटाउने तथा युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’बाट नेपाललाई हटाउने विषयमा समेत पहल गरिनेछ।
यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए।