माैसम पूर्वानुमान

केही प्रदेशमा वर्षा, तराईमा हावाहुरी र गर्मी बढ्ने

१ हप्ता अगाडि
केही प्रदेशमा वर्षा, तराईमा हावाहुरी र गर्मी बढ्ने

काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागसहित कोशी र बागमती प्रदेशमा सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने जनाइएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ। त्यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। केही स्थानमा हल्का वर्षा र हावाहुरीको सम्भावना कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।