धर्मशाला । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। क्वालिफायर-एक अन्तर्गत गएराति भएको खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि भिडन्तमा प्रवेश गरेको हो।
साबिक विजेता बेंगलुरुले अब उपाधि रक्षा गर्ने अवसर पाउने भएको छ। अब हुने इलिमिनेटरमा सनराइज हैदरावाद र राजस्थान रोयल्स भिड्नेछन्। त्यस खेलको विजेताले क्वालिफायर–दुईमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि विजयी हुने टोलीले फाइनलमा बेंगलुरुको सामना गर्नेछ।
धर्मशालामा भएको खेलमा २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९ दशमलव ३ ओभरमा १ सय ६२ रनमै समेटियो। गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। बेंगलुरुका ज्याकोब डफीले तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले पाँच विकेट गुमाएर २ सय ५४ रनको उच्च योगफल बनाएको थियो। टोलीका कप्तान रजत पाटिदारले ३३ बलमा ९३ रनको विस्फोटक पारी खेले। विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३–४३ रन जोडे।
रजत र क्रुनालले चौथो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गर्दै बेंगलुरुलाई बलियो अवस्थामा पुर्याएका थिए।