काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसम मिश्रित रहने भएको छ । एकातिर तराईका केही क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ भने अर्कोतर्फ पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। यही कारण देशभर मौसम अस्थिर बनेको हो ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायतका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा पनि थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।
मौसम प्रणाली सक्रिय भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी कायम रहने देखिएको छ। विभागले ती क्षेत्रमा ‘तातो दिन’ रहने सम्भावना औँल्याएको छ।
विशेषगरी दिउँसोको समयमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सावधानी अपनाउन सुझाव दिइएको छ। अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले आवश्यकबाहेक घाममा ननिस्कन, पर्याप्त पानी पिउन र हल्का कपडा प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
विभागका अनुसार रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना पनि विभागले जनाएको छ। बाँकी तराई क्षेत्रमा पनि केही स्थानमा तेज हावा चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूका अनुसार अहिलेको मिश्रित मौसमी प्रणालीले कृषि, सडक यातायात र दैनिक जनजीवनमा प्रभाव पार्न सक्छ। पहाडी क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम रहन सक्ने तथा हिमाली क्षेत्रमा हिमपातका कारण तापक्रम घट्न सक्ने चेतावनी दिइएको छ।
तराई क्षेत्रमा भने अत्यधिक गर्मी र हावाहुरीले जनस्वास्थ्य तथा विद्युत् आपूर्तिमा असर पार्न सक्ने देखिएको छ। त्यसैले मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।