काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो धार्मिक पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ।
पर्वका अवसरमा मुस्लिम समुदाय बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेका छन्। सामूहिक नमाज अदा गरेपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ।
काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिदमा बिहानैदेखि भक्तजनको भीड लागेको देखिएको छ।
इस्लाम धर्मअनुसार रमजान पर्व सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाइन्छ। यो पर्व त्याग, आस्था र बलिदानको प्रतीकका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार अल्लाहको आदेश पालनाका लागि नबी इब्राहिम आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएका थिए। त्यसैको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
मुस्लिम समुदायमा बकर इदका दिन धार्मिक रूपमा स्वीकार गरिएका जनावरको कुर्बानी दिने चलन छ। कुर्बानीको मासु तीन भागमा विभाजन गरी एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त र इष्टमित्रलाई तथा बाँकी भाग परिवारका लागि राख्ने परम्परा रहेको बताइन्छ।
धार्मिक दृष्टिले साउदी अरबका मक्का र मदिना लाई विशेष तीर्थस्थल मानिन्छ। हज यात्रासँग समेत जोडिएको यो पर्व मुस्लिम समुदायका लागि अत्यन्त महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।
नेपालमा मुस्लिम समुदायले आजदेखि तीन दिनसम्म बकर इद मनाउने परम्परा रहेको छ। पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।