काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ । सभापति थापासहित पदाधिकारीहरूको टोली कानुनविद्हरूलाई साथमा लिएर बिहीबार निर्वाचन आयोग पुगेको थियो ।
टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेट गरी पार्टीको अद्यावधिक विवरण तत्काल कायम गरिदिन अनुरोध गरेको छ । सभापति थापाले निर्वाचनको समय नजिकिँदै गएको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा भइसकेकाले विवरण अद्यावधिकमा ढिलाइ हुन नहुने बताए ।
उनले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको जानकारी गराउँदै विधानको धारा १७ को उपधारा (२) अन्तर्गत उक्त महाधिवेशन भएको स्पष्ट पारे । थापाले उक्त व्यवस्था बाध्यकारी भएको र सोही व्यवस्था अनुसार सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भइसकेकाले पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्नुपर्ने धारणा राखे ।
यसैबीच, विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ । आगामी निर्वाचन लक्षित तयारीलाई प्रभावकारी बनाउन शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरिएको हो ।
बैठकले केन्द्रीय सदस्य देवराज चालिसेलाई पार्टी प्रवक्ताको जिम्मेवारी पनि दिएको छ । प्रवक्ता चालिसेका अनुसार सभापति गगन थापाको नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति गठन गरिएको छ भने उपसभापति शर्माको संयोजनमा चुनाव परिचालन समिति सक्रिय बनाइएको छ ।
नयाँ नेतृत्वको पहिलो बैठकले विशेष महाधिवेशनका निर्णयहरू औपचारिक रूपमा अभिलेखमा समावेश गराउन निर्वाचन आयोगमा निवेदन दिने निर्णयसमेत गरेको थियो, जसअनुसार बिहीबार आयोगमा निवेदन दर्ता गरिएको हो ।
नेपाली कांग्रेसले विधान, कानुन र संवैधानिक व्यवस्थाअनुसार अघि बढ्दै पार्टी संगठनलाई निर्वाचन केन्द्रित रूपमा सुदृढ बनाउने तयारी तीव्र पारेको जनाएको छ ।