काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनल खेल हुँदैछन्। घरेलु टोली नेपाल महिला राष्ट्रिय भलिबल टोलीले साविक विजेता इरान महिला राष्ट्रिय भलिबल टोली सँग प्रतिस्पर्धा गर्नेछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगितामा सहभागी आठ टोलीमध्ये नेपाल र भारत समूह ‘ए’ बाट तथा इरान र काजाखस्तान समूह ‘बी’ बाट सेमिफाइनल पुगेका हुन्।
नेपाल भलिबल संघका अनुसार प्रतियोगिताको विजेता टोली एसियन कपका लागि छनोट हुनेछ। घरेलु समर्थकको साथमा नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ।