काठमाडौं । नेकपा (एमाले) ले माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचन अभियान सुरु गर्ने घोषणा गरेको छ । पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् ।
सचिव बस्नेतका अनुसार एमालेले काठमाडौंमा विशेष प्रदर्शन आयोजना गर्दै फागुन २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने स्पष्ट सन्देश दिने तयारी गरेको छ । उनले एमाले निर्वाचनमा नजाने भन्ने विषय कहिले नबोलेको दाबी गर्दै पार्टी सधैं लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे ।
उनले अहिलेको मुख्य चुनौती निर्वाचनमैत्री वातावरण निर्माण हुनु रहेको बताए । देशमा शान्ति, सुरक्षा र स्थायित्व सुनिश्चित नभएसम्म निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो । विशेष गरी जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता हुन नसकेको र फरार कैदीहरू नियन्त्रणमा नआएको विषयप्रति उनले गम्भीर ध्यानाकर्षण गराए ।
बस्नेतले राज्य संयन्त्रले ती विषयमा प्रभावकारी पहल गर्न नसक्दा सुरक्षा चुनौती कायमै रहेको उल्लेख गरे । यस्तो अवस्थामा निर्वाचनको तयारी गर्दा सुरक्षा र कानुनी शासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।
पत्रकार सम्मेलनमा एमालेले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्र बनाउने रणनीति पनि सार्वजनिक गरेको छ । माघ ४ गतेदेखि देशभर निर्वाचन अभियान औपचारिक रूपमा सुरु गर्दै जनताको विश्वास जित्ने अभियानलाई प्राथमिकतामा राखिने पार्टीको भनाइ छ ।
एमालेले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढीकरणको अवसरका रूपमा लिँदै सक्रिय सहभागिता जनाउने र जनमतको सम्मान गर्ने स्पष्ट नीति अघि सारेको छ ।