जनकपुरधाम । मिटरब्याज पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन अन्तर्गतको मिथिला कमान्डले बिहीबार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
मिथिला कमान्डका इन्चार्ज मोहन महतोले विगत १२ दिनदेखि आन्दोलन जारी रहे पनि राज्य पक्षले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाए।
उनका अनुसार मधेस प्रदेशका विभिन्न जिल्लाबाट ८ देखि १० हजारसम्म पीडित अदालत घेराउ कार्यक्रममा सहभागी हुनेछन्। आन्दोलनकारीहरूले मिटरब्याजका नाममा सर्वसाधारणमाथि आर्थिक शोषण गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गर्दै आएका छन्।
पीडितहरूले न्यायिक हस्तक्षेप, पीडित संरक्षण तथा अवैध लेनदेन नियन्त्रणका लागि प्रभावकारी कानुन कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।