काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव स्थानीय बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा डलरको उतारचढाव, भू–राजनीतिक तनाव तथा लगानीकर्ताको सुनतर्फको आकर्षणका कारण मूल्य बढिरहेको व्यवसायीहरूको भनाइ छ।
बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि उपभोक्तामा खरिद घट्ने चिन्ता पनि बढेको छ। विवाह तथा चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धिले बजार गतिविधिमा असर पार्न सक्ने व्यवसायीहरूले बताएका छन्।