काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपालीलाई नेपाली धितोपत्र बजारमा सहभागी गराउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विदेशमा बसोबास गर्ने नेपालीलाई नेपालको पुँजी बजारमा लगानी गर्न सहज वातावरण बनाइने बताएका हुन्।
सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधारको योजना पनि अघि सारेको छ। बजेट वक्तव्यअनुसार विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता लैजान पाउने व्यवस्था तथा पुँजीगत लाभकरसम्बन्धी कानुनी प्रबन्ध परिमार्जन गरिनेछ। यसबाट विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप सहज हुने सरकारको अपेक्षा छ।
त्यस्तै, नेपालमा लगानी गर्ने विदेशी कम्पनी, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई आवासीय सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था ल्याइने भएको छ। सरकारले तोकेको स्थानमा रहेका अपार्टमेन्ट वा आवासीय भवनको कुल इकाइमध्ये २५ प्रतिशतभन्दा बढी नहुने गरी विदेशी लगानीकर्ताले दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
सरकारले देवानी संहितामा संशोधन गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ। अर्थमन्त्री वाग्लेले विदेशी लगानीलाई आकर्षित गर्न र आर्थिक गतिविधि विस्तार गर्न यस्ता सुधार आवश्यक रहेको बताए।
सरकारको यो घोषणालाई आर्थिक क्षेत्रले चासोका साथ हेरेको छ। गैरआवासीय नेपालीलाई सेयर बजारमा सहभागी गराउने निर्णयले नेपालमा वैदेशिक पुँजी भित्रिने, पुँजी बजार विस्तार हुने तथा लगानीको दायरा फराकिलो बन्ने अपेक्षा गरिएको छ।
यसैगरी विदेशी लगानीकर्तालाई आवासीय सुविधा सहज बनाउने निर्णयले अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थालाई नेपालमा दीर्घकालीन रूपमा काम गर्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।