काठमाडौं — सरकारले चार वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब बढाइएको घोषणा गरेका हुन्।
अर्थमन्त्री वाग्लेले लामो समयदेखि तलब पुनरावलोकन नभएको र महँगी बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर तलब वृद्धि गरिएको बताए। हाल कायम रहेको महँगी भत्तालाई यथावत राख्दै नयाँ तलब संरचना लागू गरिने उनले जानकारी दिए।
सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्ने घोषणा पनि गरेको छ। त्यसअन्तर्गत नयाँ तलबमानको मासिक १० प्रतिशत बराबर प्रोत्साहन भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ।
अर्थमन्त्रीका अनुसार तलब वृद्धि र प्रोत्साहन भत्ता जोडिँदा कर्मचारीले हाल पाइरहेको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ। ग्रेडसहित सरकारी कर्मचारीको न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने सरकारको दाबी छ।