जसपा–लोसपा एकीकरणपछिको पहिलो बैठक चुनावी रणनीतिमा

३ महिना अगाडि
जसपा–लोसपा एकीकरणपछिको पहिलो बैठक चुनावी रणनीतिमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण भएपछि गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको पहिलो बैठक बसेको छ ।

पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थितिमा बसेको बैठकमा एकीकरणपछिको सांगठनिक संरचना, आन्तरिक समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे विस्तृत छलफल भएको छ ।

बैठकमा विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखेर छलफल सुरु गरिएको पार्टी स्रोतले जनाएको छ । एकीकृत पार्टीलाई निर्वाचन केन्द्रित रूपमा प्रभावकारी बनाउने, साझा रणनीति तय गर्ने र संगठनलाई थप सुदृढ बनाउने विषयमा प्रारम्भिक सहमति जुटाउने प्रयास गरिएको जनाइएको छ ।

एकीकरणपछि पहिलो पटक बसेको बैठकलाई पार्टीको आगामी राजनीतिक यात्राको आधार तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।