सरकारद्वारा २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, चालू खर्चमै बढी हिस्सा

१ हप्ता अगाडि
सरकारद्वारा २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, चालू खर्चमै बढी हिस्सा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आय–व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका हुन्।

सरकारले कुल बजेटमध्ये चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरेको छ। पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत छुट्याइएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट राखिएको छ।

यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी रहेको सरकारले जनाएको छ।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। उक्त बजेटमा चालू खर्चतर्फ ६०.१ प्रतिशत, पुँजीगततर्फ २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १९.१ प्रतिशत विनियोजन गरिएको थियो।

तर गत वर्षको राजनीतिक परिवर्तनपछि बजेट कार्यान्वयनको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले सम्हालेको थियो। त्यसपछि अर्थमन्त्री रामेश्वर खनालले अर्धवार्षिक समीक्षामार्फत बजेट पूर्ण रूपमा खर्च नहुने संशोधित अनुमान सार्वजनिक गरेका थिए।

अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षाअनुसार चालू आर्थिक वर्षमा कुल विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ। यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ।

संशोधित अनुमानअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ।

सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य पनि दोहोर्‍याएको छ।