अछाममा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

१ हप्ता अगाडि
अछाममा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिक-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गएराति दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल तथा जिप चालक नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता घाइते भएका छन्।

घाइते तीनै जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।