कुशीनगर । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट करिब ५०० नेपाली नागरिकको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली गएराति भारत पुगेर उद्धार कार्य सम्पन्न गरेको हो। उद्धार गरिएका नेपालीहरूलाई अहिले सुनौली नाका हुँदै नेपाल ल्याइँदै रहेको जनाइएको छ।
प्रहरीका अनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याइएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा राख्दै बन्दकजस्तै अवस्थामा राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उद्धार गरिएका नेपालीहरूको पहिचान खुलाउने, उनीहरूलाई भारत पुर्याउने समूहको खोजी गर्ने तथा घटनाको थप अनुसन्धान गर्ने काम जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसारको आशंकासमेत गरिएकाले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। उद्धार गरिएका नागरिकलाई आवश्यक परामर्श, स्वास्थ्य परीक्षण तथा थप सोधपुछपछि सम्बन्धित जिल्ला पठाइने तयारी गरिएको छ।