च्याम्पियन्स लिग

पेनाल्टीमा आर्सनललाई हराउँदै पीएसजीले जोगायो च्याम्पियन्स लिगको उपाधि

१ हप्ता अगाडि
पेनाल्टीमा आर्सनललाई हराउँदै पीएसजीले जोगायो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि पुनः आफ्नो नाममा गरेको छ। रोमाञ्चक फाइनल निर्धारित तथा अतिरिक्त समयसम्म १-१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टीमार्फत लागेको थियो।

बुडापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो। खेलको छैटौं मिनेटमा काई हाभर्ट्जले गोल गर्दै इंग्लिस क्लबलाई अघि बढाएका थिए। उक्त गोलसँगै हाभर्ट्ज च्याम्पियन्स लिग फाइनलमा दुई फरक क्लबबाट गोल गर्ने दुर्लभ खेलाडीको सूचीमा परेका छन् ।

पहिलो हाफमा आर्सनलको रक्षापंक्ति निकै मजबुत देखिएको थियो। पीएसजीले लगातार आक्रमण गरे पनि गोल गर्न सफल हुन सकेन।

तर दोस्रो हाफमा खेलको मोड बदलियो। ६५औँ मिनेटमा पीएसजीले पेनाल्टी अवसर पायो, जसलाई ओस्मान डेम्बेलेले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो।

सुटआउटमा पीएसजीका खेलाडीहरू प्रभावशाली देखिए भने आर्सनलका एबेरेची एजे र ग्याब्रिएल निर्णायक क्षणमा चुके। ग्याब्रिएलको अन्तिम प्रहार गोलपोस्टमाथिबाट बाहिरिएपछि फ्रेन्च क्लबको जित सुनिश्चित भएको थियो।

लुकास बेराल्डोले सफलतापूर्वक पेनाल्टी प्रहार गर्दै पीएसजीलाई उपाधि दिलाए। यससँगै सन् २०१६ देखि २०१८ सम्म लगातार उपाधि जितेको रियल म्याड्रिडपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बन्न पीएसजी सफल भएको छ।

यद्यपि आर्सनलले यस सिजन प्रतियोगिताको निर्धारित समयभित्र कुनै खेल नहार्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। तर उपाधि भिडन्तमा भाग्यले साथ नदिँदा उपविजेतामै सीमित हुनुपर्‍यो।

पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा क्लबले खेलेका सबै पेनाल्टी सुटआउट जितेको छ। एनरिकेले आफ्नो प्रशिक्षण करियरमा खेलेका १३ वटा एक खेलको फाइनलमध्ये १२ वटामा उपाधि जित्ने प्रभावशाली कीर्तिमान पनि कायम राखेका छन्।

उपाधि जितेपछि प्रशिक्षक एनरिकेले आर्सनलविरुद्धको प्रतिस्पर्धा निकै कठिन रहेको उल्लेख गर्दै आफ्नो टोलीले सिजनभर गरेको प्रदर्शनका आधारमा उपाधि जित्न योग्य रहेको प्रतिक्रिया दिएका छन्।