काठमाडौं । देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने क्रममा आइतबार विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र नेपाल आसपास सक्रिय न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण मौसम प्रभावित बनेको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको जनाएको छ। तराईका अधिकांश स्थानमा भने आंशिक बदलीको अवस्था देखिएको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही जिल्लामा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा दर्ज गरिएको छ।
दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली रहनेछ भने अधिकांश पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ। अन्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।
महाशाखाले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ। साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा हेर्न आग्रह गरिएको छ।