काठमाडौं जडीबुटीमा प्रहरीले चलायो गोली

१ हप्ता अगाडि
काठमाडौं जडीबुटीमा प्रहरीले चलायो गोली

काठमाडौं । राजधानीको जडीबुटी क्षेत्रमा प्रहरीले गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ। लुटपाट घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार कारबाहीका क्रममा गोली चलाएर गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कार्की काठमाडौंको चपली क्षेत्रमा बस्दै आएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार शनिबार दिउँसो जडीबुटीस्थित एक चप्पल उद्योग परिसरमा एक महिलाको सुनको सिक्री लुटिएको घटनामा कार्कीको संलग्नता रहेको आशंका गरिएको छ।

घटनापछि उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका कार्कीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।