विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस : युवालाई निकोटिनको लतबाट जोगाउन आह्वान

१ हप्ता अगाडि
विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस : युवालाई निकोटिनको लतबाट जोगाउन आह्वान

काठमाडौं । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, त्यसको सामाजिक प्रभाव तथा नियन्त्रणका उपायबारे जनचेतना फैलाउने उद्देश्य राख्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पहलमा मनाइने यस दिवसको सुरुआत सन् १९८७ मा भएको हो। सुर्तीजन्य पदार्थका कारण बढ्दो रोग र मृत्यु दरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन यो अभियान थालिएको थियो। त्यसयता हरेक वर्ष मे ३१ लाई विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसका रूपमा मनाइँदै आएको छ।

डब्लुएचओका अनुसार विश्वभर अझै पनि अर्बौं मानिस कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। सुर्ती सेवनका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। तीमध्ये ठूलो संख्या प्रत्यक्ष धूमपानकर्ताको भए पनि करिब १२ लाख मानिस निष्क्रिय धूमपानका कारण ज्यान गुमाउने गरेका छन्।

यस वर्षको दिवसमा डब्लुएचओले विशेषगरी बालबालिका र युवापुस्तालाई निकोटिन तथा सुर्तीजन्य उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई आग्रह गरेको छ। पछिल्ला वर्षहरूमा विद्युतीय चुरोट (ई–सिगरेट), निकोटिन पाउच तथा स्वादयुक्त निकोटिनजन्य उत्पादनको प्रयोग किशोर र युवामाझ तीव्र रूपमा बढ्दै गएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।

डब्लुएचओका अनुसार सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले युवालाई लक्षित गर्दै आकर्षक स्वाद, आधुनिक प्याकेजिङ र डिजिटल प्रचारप्रसारको प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जाल र प्रभावशाली व्यक्तिमार्फत गरिने प्रचारले किशोर उमेर समूहलाई बढी प्रभावित पारिरहेको संगठनको निष्कर्ष छ।

स्वास्थ्य विज्ञहरूले निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएको र विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोरका लागि यसको असर गम्भीर हुन सक्ने चेतावनी दिएका छन्। विश्वभर ई–सिगरेट प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको र युवापुस्तामा यसको लोकप्रियता उच्च दरमा फैलिरहेको बताइएको छ।

डब्लुएचओले निकोटिन पाउच र अन्य नयाँ उत्पादनको बिक्री तथा प्रयोगमा पर्याप्त कानुनी नियमन नहुँदा जोखिम बढ्दै गएको जनाएको छ। विश्वका धेरै देशमा यस्ता उत्पादनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नभएकाले सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिइएको छ।

संगठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन नियन्त्रण गर्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान र भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा डब्लुएचओले जोड दिएको छ।