काठमाडौं । मगर समुदायले बिहीबार माघे सङ्क्रान्ति तथा थारु समुदायले माघी पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्तिका रूपमा मनाइन्छ ।
यस अवसरमा मगर र थारु समुदायले काठमाडौँमा झाँकीसहितको र्याली आयोजना गर्दै आफ्ना सांस्कृतिक पहिचान प्रस्तुत गरेका छन् । परम्परागत भेषभूषा, नृत्य र बाजागाजासहित निकालिएको र्यालीले राजधानीको वातावरण उत्सवमय बनेको थियो ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन क्रमशः लम्बिँदै र रात छोटिँदै जाने धार्मिक विश्वास रहेको छ । उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, साधना तथा दान–पुण्यलाई विशेष फलदायी मानिन्छ ।
यसैकारण देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत विभिन्न तीर्थस्थलमा माघ स्नान गर्न भक्तजनको ठूलो भीड लागेको छ । ती स्थानहरूमा आज विशेष मेलासमेत लागेको छ ।