आईपीएल

लगातार दोस्रो वर्ष आईपीएल च्याम्पियन बन्यो बेंगलुरु

१ हप्ता अगाडि
लगातार दोस्रो वर्ष आईपीएल च्याम्पियन बन्यो बेंगलुरु

अहमदाबाद । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि लगातार दोस्रो वर्ष जित्दै नयाँ इतिहास रचेको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो। टोलीको जितमा विराट कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतमा अविजित ७५ रनको शानदार इनिङ्स खेले।

यस्तै, वेङ्कटेश अय्यरले ३२ रनको योगदान दिए भने कप्तान रजत पाटीदारले १५ रन बनाए। टिम डेभिडले २४ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए।

गुजरातका लागि राशिद खानले २ विकेट लिए। कागिसो रबाडा, मोहम्मद सिराज र अर्शद खानले समान एक–एक विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ५ चौका प्रहार गरेका थिए।

निशान्त सिन्धुले २० रन, जोस बटलरले १९ रन तथा अर्शद खानले १५ रन बनाए। कप्तान शुभमन गिल १० रनमा तथा साई सुदर्शन १२ रनमा आउट भए।

बेंगलुरुको बलिङतर्फ रसिक सलामले ३ विकेट लिए। जोस हेजलउड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट हात पारे।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको बेंगलुरुले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो। गुजरातले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको थियो।

बेंगलुरु यसअघि सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। २०२५ मा पहिलो पटक उपाधि जितेको टोलीले यसपटक लगातार दोस्रो सफलता हासिल गर्दै आईपीएल इतिहासमा लगातार दुई संस्करण जित्ने तेस्रो टोली बन्न सफल भएको छ।

यसअघि चेन्नई सुपर किंग्सले सन् २०१० र २०११ मा तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार दुई संस्करणको उपाधि जितेका थिए।

उपविजेता बनेको गुजरात टाइटन्सले भने छोटो समयमै प्रतियोगितामा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ। टोलीले सन् २०२२ मा पहिलो सहभागितामै उपाधि जितेको थियो भने २०२३ र यस वर्षको संस्करणमा पनि फाइनलसम्मको यात्रा तय गरेको छ।