माैसम पूर्वानुमान

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा चट्याङ र हिमपात

१ हप्ता अगाडि
पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा चट्याङ र हिमपात

काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार दिउँसो अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, कोसी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

रातिको समयमा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ। अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

हाल देशभरको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। सम्भावित वर्षा, चट्याङ र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।