सिन्धुली । सिन्धुलीको घ्याङ्लेखस्थित एसबीआई बैंक लुटपाट घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति स्थानीय बासिन्दा चतुरमान बैज्यु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार चतुरमान बैंक लुटपाटका मुख्य योजनाकार हुन् । बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ यसअघि नै पक्राउ परिसकेका छन् । चतुरमान घरधनी स्याङ्ताङका जेठान रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा प्रहरी चौकीको संयुक्त चेकिङ टोलीले चतुरमानलाई नियन्त्रणमा लिएको हो । उक्त घटनामा हालसम्म २ जना स्थानीय, १ जना चालकसहित ५ जना लुटेरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भने थप २ जना अझै फरार रहेका छन् । फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।