इरानसँगको शान्ति प्रस्तावमा थप संशोधन चाहिने अमेरिकी राष्ट्रपतिको धारणा

१ हप्ता अगाडि
इरानसँगको शान्ति प्रस्तावमा थप संशोधन चाहिने अमेरिकी राष्ट्रपतिको धारणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित शान्ति सम्झौताको मस्यौदामा थप संशोधन आवश्यक रहेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालन, उच्च संवर्द्धित युरेनियमको व्यवस्थापन तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा अझ स्पष्ट सहमति आवश्यक रहेको ट्रम्पको धारणा छ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर घालिबाफले भने राष्ट्रिय हित र सार्वभौमिक अधिकार सुरक्षित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन्।

प्रस्तावित मस्यौदामा ६० दिनको युद्धविराम, जलडमरूमध्य खुला गर्ने तथा आणविक कार्यक्रमसम्बन्धी वार्ता पुनः सुरु गर्ने व्यवस्था समावेश गरिएको छ। तर दुवै पक्षबाट लगातार संशोधन प्रस्ताव आइरहेकाले अन्तिम सहमति अझै हुन सकेको छैन।

विश्लेषकहरूका अनुसार मध्यपूर्व क्षेत्रमा स्थायित्व कायम गर्न यो वार्ता महत्वपूर्ण मानिएको भए पनि सहमति हुन अझै केही समय लाग्न सक्ने देखिएको छ।