काठमाडौं । देशका विभिन्न भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने भए पनि अधिकांश तराई क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको छ। जल तथा मौसम विज्ञान विभागले पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने अनुमान गरेसँगै तराईका केही जिल्लामा गर्मी बढ्न सक्ने जनाएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ। यसकै प्रभावका कारण देशका केही भूभागमा मौसम परिवर्तनशील रहनेछ।
विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ। वर्षा कम हुने संकेत देखिएकाले मधेस प्रदेश तथा कोसी प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। तापक्रम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
रातिको समयमा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने पूर्वानुमान छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ। कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच मौसमविद् विनोद पोखरेलले नेपालमा मनसुन भित्रिने समय अझै निश्चित भइनसकेको बताएका छन्। उनका अनुसार पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले आगामी केही दिन देशका अधिकांश क्षेत्रमा उल्लेखनीय वर्षा हुने सम्भावना कम छ। उनले पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको उल्लेख गर्दै तराई क्षेत्रमा भने तत्काल पानी पर्ने संकेत नदेखिएको बताए।
मौसमविद्हरूका अनुसार भारतको दक्षिणी भाग हुँदै मनसुन उत्तरतर्फ सर्ने प्रक्रियामा रहेकाले त्यसको गतिले नेपालमा मनसुन भित्रिने समय निर्धारण गर्नेछ। हालसम्म मनसुन भारतको केरलासम्म पूर्ण रूपमा सक्रिय भइनसकेको जनाइएको छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ मानिन्छ। यद्यपि हरेक वर्ष मौसमीय अवस्थाअनुसार मनसुन केही दिन अगाडि वा पछाडि सर्न सक्ने भएकाले यस वर्ष पनि त्यसैअनुसार फरक पर्न सक्ने मौसमविद्हरूको भनाइ छ।