काठमाडौँ । अघिल्लो कारोबार दिन घटेको सेयर बजार मंगलबार भने सुधारिएको छ। नेपाल धितोपत्र बजारमा कारोबार मापक परिसूचक २२ दशमलव २१ अङ्कले बढेर दुई हजार ७ सय ७७ दशमलव ५८ बिन्दुमा पुगेको छ।
यस दिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार रकम पाँच अर्ब २६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। एक करोड १३ लाखभन्दा बढी कित्ता सेयर ६१ हजारभन्दा बढी पटक किनबेच भएको थियो।
वित्त समूहमा सबैभन्दा धेरै सुधार देखिएको छ। कालिञ्चोक जलविद्युत्, सेन्ट्रल फाइनान्स, क्रेस्ट सूक्ष्म बीमा, नेपाल पुनर्बीमा तथा गोर्खाज फाइनान्सका लगानीकर्ताले उल्लेख्य लाभ प्राप्त गरेका छन्।
उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश समूहको परिसूचक हरियो देखिएको छ।