काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ।
कोसी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मीको प्रभाव कायम रहने देखिएको छ। ती क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने विभागको पूर्वानुमान छ।
रातिको समयमा कोसी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य तराई क्षेत्रको मौसम सामान्यतया सफा रहने बताइएको छ।
विभागका अनुसार कोसी प्रदेशसहित केही हिमाली क्षेत्र तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
हाल देशमा उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले मौसममा बदली र वर्षाको अवस्था देखिएको विभागले जनाएको छ।