अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ

३ दिन अगाडि
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा बजारमा प्रतिगोटा करिब २५ रुपैयाँ

नारायणगढ । अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको उत्पादन लागत र बजार अवस्थालाई आधार बनाएर नयाँ समर्थन मूल्य निर्धारण गरेसँगै अण्डाको भाउ उकालो लागेको हो।

सङ्घको शुक्रबार सम्पन्न बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ। नयाँ दरअनुसार ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मध्यम अण्डाको ५१५ रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य प्रतिपेटी तीन हजार रुपैयाँ तोकिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डा प्रतिगोटा करिब २५ रुपैयाँमा बिक्री हुने अनुमान गरिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान र व्यवसायीको सुझावका आधारमा चितवनलाई आधार क्षेत्र मानेर मूल्य निर्धारण गरिएको हो। उनले गर्मी मौसमका कारण उत्पादनमा कमी आउनु, बजार माग बढ्नु तथा उत्पादन लागत निरन्तर बढिरहनुले मूल्य समायोजन गर्नुपरेको बताए।

पछिल्लो एक महिनामै अण्डाको मूल्य उल्लेख्य रूपमा बढेको देखिएको छ। वैशाख अन्तिम सातामा ४६५ रुपैयाँ रहेको ठूलो आकारको अण्डाको मूल्य अहिले ५६० रुपैयाँ पुगेको छ। त्यस्तै अन्य वर्गका अण्डाको मूल्य पनि निरन्तर बढेको छ।

सङ्घका अनुसार पछिल्ला साताहरूमा उत्पादन घट्दै जाँदा बजारमा माग भने बढेको छ। दाना, औषधि तथा अन्य सामग्रीको मूल्य वृद्धिले किसानको लागत बढाएको भन्दै त्यसअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।

अध्यक्ष पोखरेलले हाल अण्डा उत्पादनको लागत निकै बढेको र नयाँ मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको बताए। लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन खर्चको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको उनको भनाइ छ।

उनले पछिल्लो समय नेपालमा पर्यटक आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको अवैध आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुले पनि मूल्य सुधारमा सहयोग पुगेको बताए।

यद्यपि किसानलाई दीर्घकालीन रूपमा राहत दिन उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन र नीतिगत सहयोग आवश्यक रहेको उनले बताएका छन्। उनका अनुसार सरकारी सहयोग र प्रभावकारी बजार व्यवस्थापन भए हालको मूल्य अवस्था स्थिर राख्न सकिनेछ।