आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु

३ दिन अगाडि
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दैछ। पार्टीले संगठन निर्माण अभियानअन्तर्गत अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाउन लागेको हो।

रास्वपाले हालसम्म ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ। पछिल्लोपटक डोल्पा जिल्लामा तदर्थ समिति गठन भएसँगै सबै जिल्लामा संगठनात्मक संरचना विस्तार भएको पार्टीले जनाएको छ।

यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यसपटक जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लामा वडा तथा पालिका तहको अधिवेशनसमेत सम्पन्न नभएकाले जिल्ला अधिवेशन स्थगित गरिएको जनाइएको छ।

पार्टीले कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएका जिल्लामा जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम रहेको छ।

जिल्ला अधिवेशनपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। त्यसपछि असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको प्रथम महाधिवेशन आयोजना हुने कार्यतालिका तय गरिएको छ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत स्थायी नेतृत्व चयन, संगठनात्मक संरचना सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ।