मौसम पूर्वानुमान

पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

२ दिन अगाडि
पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । देशको मौसममा आज पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ भने तराईका केही भागमा तापक्रम बढ्ने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ। तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोसी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

कोसी प्रदेशका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित केही हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

महाशाखाले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

रातिको समयमा कोसी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस र बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

कोसी प्रदेशका केही तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले विशेषगरी तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।