काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि नेपाल र भारतले तीन बुँदे संयुक्त घोषणा जारी गरेका छन्।
शनिबार साँझ सम्पन्न द्विपक्षीय भेटवार्तामा व्यापार, आर्थिक सहयोग, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका जनताबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
भेटवार्तापछि जारी घोषणामा भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत भारतले निर्माण गरेका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको उल्लेख गरिएको छ। यी संरचना भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएका हुन्।
त्यसैगरी, सीमापार वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यसहित भारतको एकीकृत डिजिटल भुक्तानी प्रणाली र नेपालको राष्ट्रिय भुक्तानी पूर्वाधारबीच आबद्धता सुरु गर्ने सहमति भएको छ। यसबाट नेपाल र भारतबीचको विप्रेषण तथा डिजिटल भुक्तानी सेवा थप सहज हुने अपेक्षा गरिएको छ।
घोषणाको तेस्रो बुँदाअनुसार भारतको भाषा प्रविधि कार्यक्रम ‘भाषिनी’ र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्र आदानप्रदान भएको छ। यस सहकार्यअन्तर्गत नेपालका लागि आवाजमा आधारित भाषा अनुवाद प्रणाली तथा डिजिटल भाषा पूर्वाधार विकासमा सहकार्य गरिने जनाइएको छ।
दुवै देशका विदेशमन्त्रीको उपस्थितिमा समझदारीपत्र आदानप्रदान गरिएको हो। भारतले मन्त्री खनालसँगको फलदायी छलफलको निरन्तरताका रूपमा यी सहमति भएको जनाएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले त्यहाँका विभिन्न उच्च अधिकारीसँग पनि भेटवार्ता गरेका छन्। उनी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।