काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्र देखिएको विवाद समाधान गर्न प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावपछि चर्किएको विवाद अन्ततः मन्त्री पद बाँडफाँटमार्फत समाधान गर्ने सहमति नजिक पुगेको छ।
कांग्रेसभित्रको असन्तुष्ट पक्षलाई सरकारमा सहभागी गराउने गरी शीर्ष नेताहरूको उपस्थितिमा भएको छलफलपछि नयाँ समझदारी बनेको हो। सहमतिअनुसार कांग्रेसको भागमा रहेका मन्त्रालयमध्ये दुई मन्त्रालय असन्तुष्ट पक्षलाई र एक मन्त्रालय मुख्यमन्त्री पक्षलाई दिने तयारी गरिएको छ।
आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री पक्षले राख्ने तथा सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय असन्तुष्ट समूहलाई दिने समझदारी भएको स्रोतले जनाएको छ।
यद्यपि दुवै पक्षमा मन्त्री बन्ने आकांक्षी धेरै भएकाले नाम टुंग्याउन अझै छलफल जारी छ। कांग्रेस नेताहरूका अनुसार एक–दुई दिनभित्र मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया टुंगो लाग्ने सम्भावना रहेको छ।