ललितपुर । ललितपुरको फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। घुमफिर सकेर फर्किने क्रममा बाटो बिराएका उनीहरू केही समय जङ्गलमा अलपत्र परेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार काठमाडौँ महानगरपालिका–२२ निवासी एक पुरुष र दुई महिला फुल्चोकीबाट फर्किने क्रममा सम्पर्कविहीन भएका थिए। उनीहरू हराएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी खोजी अभियान सञ्चालन गरिएको थियो।
खोजतलासका क्रममा प्रहरीले जङ्गल क्षेत्रमा अलपत्र परेका तीनै जनालाई फेला पारेर सुरक्षित रूपमा उद्धार गरेको जनाएको छ। उद्धारपछि उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार पछिल्ला समय फुल्चोकी क्षेत्रमा भ्रमण तथा पदयात्रा गर्नेहरूको सङ्ख्या बढेसँगै बाटो बिराउने घटना पनि दोहोरिन थालेका छन्। केही दिनअघि मात्रै सोही क्षेत्रमा बाटो हराएका चार जनाको पनि उद्धार गरिएको थियो।
प्रहरीले जङ्गल तथा पदयात्रामा निस्कँदा समूहमा यात्रा गर्न, मोबाइल पूर्ण चार्ज राख्न, आवश्यक सामग्री बोकेर हिँड्न र चिनिएका तथा सुरक्षित मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।